By: admin
अर्को महिना भारतिय इलेक्ट्रिक स्कुटर ब्राण्ड नेपाल आउने भएकाे छ। ‘पियोर इभी’ ब्राण्डलाई ह्वाइट लोटस मोटर्स प्रालीले नेपाल भित्राउन लागेको हो।
असोजको तेस्रो साता औपचारिक रुपमा स्कुटर सार्वजनिक गर्ने तयारी रहेको कम्पनीका म्यानेजिङ डाइरेक्टर असोक खड्कीले जानकारी दिए।
पहिलो चरणमा राजधानीको नक्साल र जावलाखेलमा तथा दशैं अगाडिसम्म चितवन, कावासोती र बुटवलमा शोरुम स्थापना गरिने खड्कीले बताए।
‘देशका मूख्य शहरका १५ ठाउँमा शोरुम स्थापना गरेर १ वर्ष भित्र नेपालको नम्बर १ ब्राण्ड बनाउने लक्ष्य छ,’ खड्कीले सेतोपाटीसगँ भने।
उनकाअनुसार कम्पनीले शोरुम बनाउनु भन्दा पहिले सर्भिस सेन्टर स्थापना गरेको छ।
‘नेपालमा यस्ता धेरै कम्पनी आए तर विक्रीपछिको सेवा नपाउँदा ग्राहकले सधैं सास्ती खेप्नुपर्यो। त्यसैले हामी शोरुम भन्दा पहिले बबरमहलमा सर्भिस सेन्टर बनाएका छौं। तीन सय भन्दा धेरैलाई पुग्ने स्पेयर पाट्स पनि ल्याइसकेका छौं।’ खड्कीले भने।
त्यसैगरी सर्भिसिङको विज्ञता हासिल गर्न आफ्ना इन्जिनियरलाई तालिमको लागि भारत पठाउन लागेको उनले जानकारी दिए।
पियोर इभी भारतमा बन्ने भएकोले नेपालको बाटो सुहाउँदो हुने उनको दावी छ। खड्कीकाअनुसार यो स्कुटर भारतमा एसेम्बल मात्र नभई सबै पार्टस भारतमै बन्छ।
यो ब्राण्ड एआरएआई सर्टिफाइड भएकोले गुणस्तरमा कुनै सम्झौता नभएको उनी बताउँछन्।
कम्पनीले पहिलो चरणमा २ वटा मोडलका स्कुटर भित्राउने तयारी गरेको छ।
७ जी मोडलका स्कुटरमा २५ किलोवाटको ब्याट्री र १५० वाटको मोटर जडान गरिएको छ। फुल चार्ज गर्न ४ घण्टा लाग्ने यस स्कुटरले फल चार्जमा १ सय १६ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दावी छ।
कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ। यसमा एलसिडी स्क्रिन, अलोए ह्विल, एन्टी थिफ प्रोभिजन विथ स्मार्टलक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन्। कम्पनीले यसको मूल्य २ लाख ५५ हजार निर्धारण गरेको छ।
त्यस्तै, यसको इन्ट्रान्स प्लस इन्ट्री लेबलको स्कुटर हो। यसमा १.२५ किलोवाटको ब्याट्री र २५० वाटका मोटर जडान गरिएको छ। फुल चार्ज हुन ३ घण्टा लाग्ने यस स्कुटरले सिङ्गल चार्जमा ९० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ। यसको मूल्य २ लाख १० हजार निर्धारण गरिएको छ।
Designed & Developed by