By: admin
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी प्युअर ईभीका दुई मोडल उपलब्ध हुने भएका छन् । आधिकारिक वितरकको रुपमा ह्वाइट लोटस मोटर्सले ई–प्लुटो ७जी र ई–ट्रान्स प्लस गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने भएको हो ।
अलि बढी स्पिड र प्रिमियम मोडल चाहनेका लागि ई–प्लुटो ७जी र थोरै मात्र प्रयोग गर्ने र कम स्पिड चाहनेका लागि ई–ट्रान्स प्लस उपलब्ध गराएको ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले बताए । यी स्कुटरको मूल्य क्रमशः २ लाख ५५ हजार र २ लाख १० हजार रुपैयाँ छ ।
ई–प्लुटो ७जी स्कुटरमा २.५ किलोवाटको ब्याट्री र १.५ किलोवाटको मोटर छ भने यसलाई एक पटक चार्ज गर्दा ११६ किलोमिटर गुडाउन सकिन्छ । हप्तामा दुई पटक मात्र चार्ज गर्दा पुग्ने र अन्य स्कुटरमा पेट्रोल हाल्ने पैसाले स्कुटरको मासिक किस्ता नै तिर्न पुग्ने बताइएको छ ।
ई–ट्रान्स प्लस स्कुटरमा १.२५ किलोवाटको ब्याट्री र २५० वाटको मोटर छ । यसलाई एक पटक चार्ज गर्दा ९० किलोमिटर चलाउन सकिन्छ । कलेज जाने विद्यार्थी र कम मात्र प्रयोग गर्न रुचाउने प्रौढ उमेरका व्यक्तिहरुका लागि समेत यो स्कुटर उपयोगी हुन सक्छ ।
स्कुटरमा ३ वर्षको वारेन्टी र २ वर्ष सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ । यद्यपि इलेक्ट्रिक स्कुटरलाई सर्भिसिङको धेरै आवश्यकता नपर्ने र भारतीय बजारको अनुभव अनुसार ५ वर्ष सम्म स्कुटरको ब्याट्री र मोटरमा कुनै समस्या नदेखिएको खड्गीले बताए ।
कुनै पनि सवारी साधनका लागि सेल्सका साथै स्पेयर पार्ट्सको समेत आवश्यकता पर्छ । यही कुरालाई मनन गरी ह्वाइट लोटसले स्कुटरको उपलब्धताका साथै स्पेयर पार्ट्स पनि उपलब्ध गराइसकेको बताएको छ । पहिलो चरणमा काठमाडौंको नक्साल र जावलाखेलमा यसको सोरुम स्थापना गरिने छ भने उपत्यका वाहिर चितवन, बुटवल र पोखरामा डिलर नियुक्त गरिसकेको छ ।
बबरमहलमा यसको सर्भिस सेन्टर समेत स्थापना भइसकेको छ । सर्भिस इन्जिनियरहरु आवश्यक तालिमका लागि भारतको पटना जाने तयारीमा रहेको बताइएको छ ।
विद्युतीय सवारी साधनका लागि ८० प्रतिशत सम्म बैंकहरुले ऋण उपलब्ध गराउने सक्ने भएकाले फाइनान्स सुविधामा समेत स्कुटर उपलब्ध गराइने छ । यसका लागि ४ वटा बैंकहरुसँग सम्झौता समेत भइसकेको खड्गीले बताए ।
स्थिति सामान्य भएको अवस्थामा छिट्टै नै यी स्कुटर औपचारिक रुपमा सार्वजनिक हुने छन् । आगामी ६ महिना भित्र १५० किलोमिटर रेन्ज भएको आकर्षक इलेक्ट्रिक मोटरसाइकल समेत ल्याउने योजना रहेको र केही वर्ष पछि चार पांग्रे सवारी साधन समेत भित्र्याउने योजनामा ह्वाइट लोटस रहेको खड्गीले जानकारी दिए ।
लिड एसिड ब्याट्री पुरानो प्रविधि भएको र आगामी दिनमा लिथियम आयोन ब्याट्री नै प्रभावकारी बन्ने भएकाले भरपर्दो, दीगो र आफ्नै आर एन्ड डी भएको कम्पनी खोजी गर्ने क्रममा आफूहरुले प्युअर ईभीलाई रोजेको खड्गी बताउँछन् । आईआईटी हैदरावादमा स्थापना भएर विकास भएको कम्पनी भएको र स्कुटर तथा ब्याट्री समेत आफै उत्पादन गर्ने कम्पनी भएकाले प्युअर ईभी धेरै विश्वसनिय भएको बताइएको छ ।
नेपाली बजारमा उपलब्ध हुने यी स्कुटर भारतको एआरएआईले समेत प्रमाणिकरण गरेको हुनाले भरपर्दो र विश्वसनिय भएको बताइएको छ ।
Designed & Developed by