भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

By:

भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री रेकर्ड कायम भएको छ । नोभेम्बर महिना सम्म भारतका सबै २५ ईभी निर्माता कम्पनीले १ लाख १६ हजार ६६९ दुई पांग्रे ईभी अर्थात इलेक्ट्रिक स्कुटर र बाइक बिक्री गरेका छन् । यसका आधारमा एक महिना पश्चात वर्ष सकिदा करिव १ लाख ३५ हजार ईभी बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष भारतमा २५ हजार ५९८ युनिट मात्र यस्ता ईभी बिक्री भएका थिए । यसका आधारमा यो वर्ष यस्ता दुई पांग्रे ईभीको बिक्री ३३५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

कोभिड–१९ संक्रमणको वर्ष भए तापनि पछिल्लो सेप्टेम्बर–नोभेम्बर महिनामा मात्रै औसतमा करिव १९ हजार यस्ता ईभी बिक्री भएका छन् । यी मध्ये सबैभन्दा धेरै बिक्री हुने पहिलो नम्बरमा हिरो इलेक्ट्रिक रहेको छ । हिरो इलेक्ट्रिकले ११ महिना अवधिमा ४० हजार ३१८ युनिट बिक्री गरेको छ । यसका आधारमा हिरोले ३४.५६ प्रतिशत बजार हिस्सा छ ।

दोस्रो नम्बरमा ओकिनावा छ र ओकिनावाका २३ हजार ८९९ युनिट सवारी साधन बिक्री भए । यसको बजार हिस्सा २०.४८ प्रतिशत छ । तेस्रो नम्बरमा १४ हजार १५२ युनिट बिक्री गरी एथर इनर्जी तेस्रो नम्बरमा रहेको छ । यसको बजार हिस्सा १२.१३ प्रतिशत छ ।

चौथो नम्बरमा प्योर ईभी उक्लिएको छ । यो भन्दा पहिले सातौं नम्बरमा रहेको प्योर ईभी यस पटक ९ हजार ३६३ युनिट बिक्रीका साथ चौथो नम्बरमा उक्लिएको हो । प्योर ईभीले ८.०३ प्रतिशत बजार हिस्सा लिएको छ ।

पाँचौ नम्बरमा एम्पियर भेइकल, छैटौं नम्बरमा टीभीएस मोटर, सातौ नम्बरमा रिभोल्ट, आठौं नम्बरमा बजाज, नवौं नम्बरमा बेन्लिङ र दशौं नम्बरमा मिउ इलेक्ट्रिकल रहेका छन् ।

नेपालमा दुई पांग्रे ईभीको अवस्था
नेपाली बजारमा बिक्री–वितरण भइरहेका दुई पांग्रे इलेक्ट्रिक भेइकल मध्ये माथि उल्लिखित केही कम्पनीका उत्पादन मात्र बिक्रीका लागि उपलब्ध छन् । भारतमा धेरै बिक्री हुने पहिलो नम्बरमा रहेको हिरो इलेक्ट्रिक कुनै समय नेपालमा बिक्री भएर बन्द भएको थियो । हाल नेपाली बजारमा हुन्डाई र बीएमडब्ल्यु लगायतका सवारी साधन बिक्री गरिरहेको लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रिक बिक्रीका लागि उपलब्ध गराउने तयारी गरिरहेको चर्चा भए पनि आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

दोस्रो नम्बरमा रहेको ओकिनावा स्कुटर भने नेपालाम बिक्रीका लागि उपलब्ध छ । नेपाली बजारमा बिक्की इन्टरप्राइजेजले यो ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

प्योर ईभी नेपाली बजारमा ह्वाइट लोटस मोटर्सले बिक्री–वितरण गरिरहेको छ । प्योर ईभी नेपाली बजारमा भित्रिएको एक वर्ष मात्र पुगेको छ । तर पनि छोटो अवधिमा यसले विभिन्न डिलर सञ्जाल विस्तार गर्नुका साथै ग्राहक शिक्षा समेत प्रदान गरेको छ ।

हालै मात्र हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुलेको छ । इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ । त्यसैगरी टेकु र गावहाल तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन् । छिट्टै नै देशका विभिन्न ५ स्थानमा नयाँ सोरुम खोल्ने तयारी भइरहेको ह्वाइट लोटस मोटर्सले जनाएको छ ।

एम्पियरका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ग्रिभ्स कटन नेपालले बिक्री–वितरण गरेको छ । त्यसैगरी बेन्लिङ इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छ । अन्य ब्रान्ड भने नेपाली बजारमा अझै उपलब्ध हुन बाँकी छ ।